सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौँ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।
विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।
यसैबीच, पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२४’ का अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा आरोही तथा सहयोगी समूह गरी २ हजारभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सन् २०१९ देखि सन् २०२३ सम्ममा २ हजार ४२० जना सगरमाथा चढ्न सफल भएका हुन् । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी ६४४ जनाले सगरमाथा चढेका छन् । सन् २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । त्यस्तै सन् २०२१ मा आरोही तथा सहयोगी समूह गरी कुल ४५९ जनाले सगरमाथा आरोहण गरेका छन् । जसमा १८३ आरोही र २७६ सहयोगी छन् ।
सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ ।
सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए ।
सगरमाथा आरोहणको इतिहासमा हालसम्म ८ हजार २८५ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा चढेका छन् । विभागको तथ्यांक अनुसार सन् २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् भने सन् २०१० देखि सन् २०२३ सम्ममा ५ हजार ५७८ जनाले सगरमाथाको चुचुरोमा पाइला राखेका छन् ।
हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र ६ सय ४१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । नेपालबाट भने पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् ।
सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा सन् २०२३ सम्ममा ३ हजार २३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि लोत्से हिमालमा १ हजार १२४ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् ।
विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए ।
विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको सन् २०२३ सम्मको तथ्यांकअनुसार ५८५ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् ।
मकालुमा ७४४, धौलागिरि हिमालमा ६८६, अन्नपूर्णमा ४८८, यालुङमा ५३ र चोयुमा १४ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।