१०९ किलो गाँजा र हतियारसहित युवक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ। टोलिले ईशनाथ नगरपालिका-१ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियारसहित एक युवकलाई पक्राउ गरेको हो।
रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका-४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो। पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए।
प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।