हमासद्वारा हतियार त्याग्ने इजरायलको प्रस्ताव अस्वीकार

२०८२ बैशाख ३ गते, बुधबार


काठमाडौँ । हमासले हतियार त्याग्न इजरायलको प्रस्ताव अस्वीकार गरेको छ। हमासले गाजामा ६ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्न गरेको इजरायलको प्रस्ताव अस्वीकार गरेको हो । एक प्यालेष्टिनी अधिकारीलाई उद्दृत गर्दै बीबीसीले जनाए अनुसार इजरायलको योजनाले युद्ध अन्त्य गर्ने प्रतिवद्धता देखाएको छैन। हमासका प्रमुख माग पनि यसमा समावेश थिएनन्। बदलामा इजरायलले हमासले बन्धक बनाएका आधा बन्दी रिहाइ गर्न भनेको थियो। गाजामा इजरायलले लगातार सैन्य आक्रमण गरिरहेका बेला यस्तो प्रस्ताव आएको हो।
हालै गाजाको खान युनिस क्षेत्रमा रहेको एक अस्पतालमा हवाइ आक्रमण भएको छ। जसमा एक सुरक्षा गार्ड मारिएका छन् भने अरु नौ जना घाइते भएको समाचारमा उल्लेख छ।
यसअघि गाजा क्षेत्रमा इजरायलले हिजो गरेको ब्यालेष्टिक मिसाइल आक्रमणमा २३ जनाको मृत्यु भएको थियो। गाजामा युद्ध सुरु भएयता ५१ हजार भन्दा धेरै प्यालेष्टिनीको मृत्यु भइसकेको छ।
संयुक्त राष्ट्रसंघले युद्ध सुरु भएदेखि १८ महिनाको अवधिमा गाजाको मानवीय अवस्था सबैभन्दा नाजुक स्थितिमा पुगेको बताएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]