आत्मनिर्भरता अब व्यावसायिक उत्पादनमा रूपान्तरण

२०८२ बैशाख ८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मनिर्भरताको लक्ष्यलाई व्यावसायिक उत्पादनमा विस्तार गर्ने घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी द्वारा अर्घाखाँची, शीतगंगा ११ मान्द्रे कम्युनमा एक हप्तादेखि श्रम गरिरहेका महासचिव विप्लव सीले भने- “हामीले यो व्यावसायिक रूपमा यात्रा आलुबाट सुरु गरेका थियौं, तर त्यो केवल आफ्नो आवश्यकता पूरा गर्नका लागि थियो। अब यो वर्षदेखि हामीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यावसायिक उत्पादन थालेका छौं।”
महासचिव विप्लव सीले यस वर्ष मात्रै २०० टन आलु उत्पादन गरेर कम्युनले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए। उनले यसका साथै, यस वर्ष अगबरे खुर्सानी पनि बजारमा ल्याउने तयारी भइरहेको बताए।
कम्युनमा सक्रिय रूपमा सहभागी रहेका केन्द्रीय सदस्य तथा महासचिव विप्लव सीका सचिव अडिग सीले सामूहिक श्रमको महत्त्वलाई जोड दिए। उनले भने- “मैले श्रमलाई नै जीवन ठानेको छु र श्रमबिना कुनै विकल्प छैन। यो श्रम संगैको विचारले मलाई सधैँ उत्साहित बनाएको छ।”
यसैगरी, नेकपाका पोलिट ब्यूरो सदस्य सदस्य भेषराज सीले व्यावसायिक उत्पादनको दूरगामी महत्त्वबारे प्रकाश पार्दै भने- “हाम्रो जोड पार्टीभित्रको सामूहिक जीवन र त्यो भित्र सदस्यहरूको निजी जीवनलाई व्यावसायिक उत्पादनमार्फत कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा छ।
त्यसै अनुरूप हामीले यो व्यावसायिक उत्पादनको थालनी गरेका हौं।”
यसैगरी, नेकपाका केन्द्रीय सदस्य प्रयास सीले जनकम्युनको यो प्रयासलाई भविष्यको समाजवादको आधारशिलाको रूपमा व्याख्या गरे। उनले भने- “हामीले भोलिको समाजवाद स्थापना भएपछि हाम्रो देश कस्तो हुन्छ भन्ने कुरा अहिलेदेखि नै निर्माण गर्दैछौ। “
उक्त जनकम्युन हाल १६ जनाको टोली ७ रोपनी क्षेत्रफलमा सक्रिय रूपमा कृषि कार्यमा संलग्न छ भने ११ रोपनी जग्गामा थप उत्पादनको तयारी भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]