लेनिनवाद : साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विज्ञान
“लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । – स्टालिन
सन् १८७० अप्रिल २२ का दिन अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यीच लेनिनको रुसको भोल्गा नदीको किनारमा भएको थियो । त्यसैले २२ अप्रिल अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो ।
महान् लेनिन लेनिनवादका प्रतिपादक र सिद्धान्तकार तथा माक्र्सवादको यस धर्तीमा पहिलो व्यवहारिक एवं सफल प्रयोगकर्ता हुनुहुन्छ । आज सन् २०२५ अप्रिल २२ भएकोले आज विश्व सर्वहारा वर्ग, श्रमजीवी वर्ग, उत्पीडित राष्ट्र तथा जनसमुदाय एवं कम्युनिस्ट क्रान्तिकारीहरुले महान् लेखिएको १५६ औं जन्म दिवस धुमधामका साथ सगौरव संसारभर मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा यस आलेखमा लेनिन र लेनिन जन्म जयन्ती मनाउनुको महत्व तथा यसको सार्थकता, लेनिनवादको महत्व र लेनिनवादको सान्दर्भिकता आदि बारेमा लेख्न प्रयत्न गरिएको छ ।
रुसमा सन् १८८३ मा पहिलो माक्र्सवादी समुहको विकास भएको थियो । त्यो प्लेखानोवको नेतृत्वमा गठन गरिएको मजदुर मुक्त दल थियो । त्यो नै रुसमा निर्माण भएको कम्युनिस्ट पार्टी थियो । त्यसलाई लेनिनले नयाँ ढंगले विकास गर्नुभएको थियो ।
लेनिनको जन्म सन् १८७० अप्रिल २२ का दिन विश्व प्रसिद्ध भोल्गा नदीको किनारमा रहेको रुसको सिम्बिस्र्क एक सुन्दर नगरीमा भएको थियो । र, मृत्यु सन् १९२४ जनवरी २१ का दिन गोर्की हिल्समा भएको थियो ।
लेनिन लेनिनवादका प्रवर्तक, माक्र्सवादका पहिलो व्यवहारिककर्ता, महान् रुसी अक्टोबर समाजवादी क्रान्ति र रुसमा वैज्ञानिक समाजवादका संस्थापक हुनुहुन्छ । लेनिनवाद के हो भन्ने विषयमा यहाँ संक्षिप्त रुपमा यसप्रकार रहेको छ ः–
माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । माक्र्सवादी अर्थशास्त्रका क्षेत्रमा पूँजीवादको चरम र अन्तिम अवस्था साम्राज्यवादको व्याख्या, विश्लेषण र संश्लेषण गरेर साम्राज्यवादको नामाकरण गर्नु र जसलाई साम्राज्यवाद भनेको एकाधिकार पूँजीवाद, सडिरहेको पूँजीवाद र मरणासन्न पूँजीवाद, र सर्वहारा क्रान्तिको पूर्वबेला ठेगान गर्नु भनेको लेनिनवादको पहिलो महत्वपूर्ण पक्ष हो भने दोस्रो पक्ष भनेको पार्टी संगठनका क्षेत्रमा “जनवादी केन्द्रीयताको सिद्धान्त” हो । जस्तो ः “केन्द्रको निर्देशन र तलको जनवाद, सम्पूर्ण पार्टी सदस्यहरु केन्द्रीय समितिको अधिनस्त रहने, अल्पमत बहुमतको अधिनस्त रहने, सम्पूर्ण पार्टी संगठनहरु केन्द्रीय समितिको मातहतमा रहने र पार्टीको सर्वोच्च अंग राष्ट्रिय महाधिवेशन हुने “जनवादी केन्द्रीयताको सिद्धान्त हो, जसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ । यसलाई लेनिनले विकसित तुल्याउनु भएकोले यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिएको हो ।
लेनिनवाद भनेको के हो ?
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसको सिद्धान्त भौतिकवाद हो भने पद्धति द्वन्द्ववाद हो । माक्र्सवाद एक गतिशील वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद क्रान्तिको विज्ञान हो । यसको विकास पूँजीवादको प्रारम्भिक अवस्थामा भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
यही माक्र्सवादको विकासको गुणात्मक विकासको दोस्रो चरणलाई लेनिनवाद भनिन्छ । कार्ल माक्र्सले सबै पूँजीवादी देशहरूमा समाजवादी क्रान्ति सम्पन्न भए पछि मानव समाज वैज्ञानिक साम्यवादमा पुग्नेछ भन्नुभएको थियो । र, उहाँले बेलायत, जर्मनी र फ्रान्समा पहिले समाजवादी क्रान्ति हुनेछ भन्नुभएको थियो । तर लेनिनको समयमा आइपुग्दा पूँजीवादले साम्राज्यवादमा विकास ग¥यो । र, पूँजीवादी तथा साम्राज्यवादी कुनै पनि मुलुकमा समाजवादी क्रान्ति हुन सक्ने भन्दै सशस्त्र सर्वहारा क्रान्तिका रणनीति र कार्यनीति ठोस गर्नु भयो । त्यसबेला पूँजीवादले साम्राज्यवादमा प्रवेश गरेको, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै गएको र त्यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकास गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता भल्दिमिर इल्यिच लेनिनद्वारा लेनिनवादको प्रतिपादन भएको हो ।
लेनिनद्वारा लेनिनवादको प्रतिपादन हुनुका अन्य आधारहरुमा माक्र्सवादको प्रतिपादन हुनुपछि अर्थात् लेनिनको समयमा आइपुग्दा प्रकृतिविज्ञानमा पनि थप प्रगति हुँदै गएको थियो, इलेक्ट्रोनको क्षेत्रमा नयाँ–नयाँ खोज हुँदै गए अलवर्ट आइन्सटाइनद्वारा सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो । त्यस प्रकारको विश्व परिस्थितिमा कैयौं आदर्शवादी प्रकृतिक वैज्ञानिक र दार्शनिकहरुले पदार्थ लोप हुँदै भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थाले । एकातिर त्यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मको कारण मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले माक्र्सवादको गंभीर तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भएको हो ।

लेनिन संग्रहालय, तामपेरे, पिरकान्मा, फिनल्यान्ड
लेनिनले रुसमा आफ्नै नेतृत्वमा सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ क्यालेन्डर अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन रुसमा पूँजीवादी जनवादी तथा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर पहिलोपटक माक्र्सवादको सफल प्रयोग गर्नुभएको हो । यसै प्रक्रियामा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । वास्तवमा लेनिनवाद के हो ? विश्व सर्वहारा वर्गका अर्का नेता स्टालिनले भन्नुभएको छ, “लेनिनवाद भनेको साम्राज्यवाद र, सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । उहाँले अझै अगाडि भन्नुभएको छ, लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो ।” – स्टालिन ः लेनिनवादका आधारहरु, स्टालिनका छानिएका रचनाहरु पृष्ठ ९०, पैरवी प्रकाशन, काठमाडौं, २०६४ ।
लेनिनवादी सिद्धान्त, विश्वदृष्टिकोण र शिक्षाको बारेमा कमरेड माओ त्सेतुङले भन्नुभएको छ, “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम ः विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्वात्मक र द्वितीय ः क्रान्तिको सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।” ” Selected Works Of Mao Tse Tung vol V , P. 341 – 342 , Foreign Languages Press Peking , First Edition 1977.
लेनिनले माक्र्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उचाइ थप्नु भएको छ, त्यसका मूल विशेषताहरु निम्न रहेका छन् ः
(१) पदार्थको लोप भयो भन्ने आदर्शवादी प्रकृति वैज्ञानिक तथा दार्शनिकहरु र संशोधनवादीहरुका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादका दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नुभएको छ ।
(२) लेनिनले द्वन्द्ववादी पद्धतिको व्याख्या, विश्लेषण र परिमार्जन गरी त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुभएको छ । उहाँले भँडुवा विकासवादका विरुद्ध संघर्ष गरी द्वन्द्ववादको विपरीतहरुको एकता र गुणात्मक छलाङ्गको सिद्धान्तमा नयाँ आयाम थप्नु भएको छ ।
(३) द्वन्द्वात्मक भौतिकवादको ज्ञान– सिद्धान्तमा प्रतिबिम्बनको सिद्धान्त, ज्ञानको चक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरुको उजागर गर्नुभएको छ ।
(४) ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वः स्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध लेनिनले कडा संघर्ष चलाउनु भयो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका रुपमा औंल्याई सर्वहारा क्रान्तिको सिद्धान्तलाई विकास गर्ने, सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परिमार्जित गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रुपमा सैद्धान्तिककरण गर्ने क्रममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
(५) माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको, कार्यदिशासँग गाँस्ने, वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वित्तिय रहेको छ ।
यसरी लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवादको रुपमा परिभाषित गरिएको छ । यो सामान्यतया सर्वहारा क्रान्तिको सिद्धान्त र रणनीति तथा विशेषगरी सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र रणनीति हो । साम्राज्यवादको विरोध गर्न र शोषण र उत्पीडनबाट मजदुर वर्ग र उत्पीडित जनताको मुक्तिको लागि लड्न चाहनेहरुका लागि लेनिनवादको सिद्धान्त र अभ्यास आवश्यक छ ।
लेनिनले साम्राज्यवादको विहंगमम व्याख्या गर्नुभएको छ । उहाँले साम्राज्यवादलाई एकाधिकार पूँजीवाद, सडिरहेको पूँजीवाद र मरणासन्न पूँजीवाद गरी तीनवटा विशेषताकाबारेमा विहंगमम व्याख्या गर्नुभएको छ र साम्राज्यवादलाई सर्वहारा क्रान्तिको पूर्वबेला बताउनु भएको छ । सन् १९१६ मा लेनिनले पूँजीवादको अन्त्यको बारेमा “साम्राज्यवाद ः पूँजीवादको अन्तिम अवस्था नामक पुस्तक लेखेर प्रष्ट व्याख्या गर्नुभएको छ ।
लेनिनले एक व्यवहारकुशल नेताको रुपमा विभिन्न सिद्धान्तहरुको प्रतिपादन गर्नुभएको छ । उहाँले विभिन्न दार्शनिक प्रश्नहरुको पनि व्याख्या गर्नुभएको छ । लेनिनले माक्र्सको द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो पुस्तक “भौतिकवाद र अनुभवजन्य आलोचना” मा पुर्नव्याख्या गर्नुभएको छ । यसमा उहाँले दर्शनका विभिन्न प्रश्नहरुको व्याख्या र विश्लेषण गर्नुभएको छ । माक्र्सको द्वन्द्वात्मक भौतिकवादलाई लेनिनले नयाँ रुप दिनुभएको छ ।
लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विज्ञान ः
आजको पनि लेनिनले विश्लेषण गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिबीचको भीषण संघर्ष कै युगमा छ । लेनिनले यो विश्लेषण गर्ने बेलाको विश्व परिस्थितिमा तमाम प्रकारका फेरब, उथलपुथल र परिवर्तन अवश्यै भएका छन् तर सारभूत रुपमा तात्वीक परिवर्तन भएको छैन । अर्थात् आज पनि साम्राज्यवाद र विश्व सर्वहारा क्रान्ति कै अवस्था बलवान् भएर आएको छ । साम्राज्यवाद हिजोको जस्तो केन्द्रीकृत नभएर भूमण्डलीकृत अवस्थामा भए पनि विश्व सर्वहारा क्रान्तिका लागि आज पनि साम्राज्यवाद नै मुख्य दुश्मनका रुपमा खडा छ । साम्राज्यवादलाई परास्त नगरी विश्व सर्वहारा वर्गले वैज्ञानिक साम्यवाद निर्माण गर्न सक्दैन । त्यसो भएर आज विश्व सर्वहारा वर्गको काँधमा विश्व सर्वहारा क्रान्तिद्वारा वर्गविहिन, राज्यविहिन वैज्ञानिक साम्यवादको स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ, साम्यवादी रुपी नौलो संसार निर्माण गर्ने ऐतिहासिक कार्यभार पुरा गर्ने अभिभारा बोकेको विश्व सर्वहारा वर्गको निम्ति लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञान बन्न पुगेको छ ।
अन्त्यमा सन् १९०५ को रुसी क्रान्ति असफल भए पछि जार शाहले भीषण दमन चलायो । हजारौं रुसी मजदुर र जनताहरुको हत्या गरियो । जारका पुलिसबाट गिरफ्तार हुनबाट बच्ने उद्दश्येले लेनिन फिनल्यान्ड निर्वासनमा जानु भयो रुसमा प्रतिकाल शुरु भयो ।
फिनल्यान्डको पुरानो तथा ऐतिहासिक शहर तामपेरे स्थित तामपेरे वर्कर्स हल नामक भवनको तेस्रो तल्लामा सन् १९०५ देखि १९०७ सम्म ३ वर्ष भवनमा बसेर लेनिनले पार्टी काम गर्नु भयो । त्यस हलमा स्टालिनसित लेनिनको पहिलोपटक भेट भयो र त्यही हलमा बसेर पार्टीका बैठकहरु बस्ने, पार्टीका सम्मेलनहरु गर्ने काम गरियो ।
सन् १९४६ मा फिनल्यान्ड सोभियत संघ समाजद्वारा जुन हलमा लेनिन ३ वर्षसम्म भूमिगत रुपमा बसेर पार्टी काम गर्नु भएको थियो, त्यसलाई लेनिन संग्रहालय बनाइएको थियो र यो लेनिन संग्रहालय सोभियत संघ बाहिर अन्य देशहरूमा बनाएको पहिलो र अन्तिम संग्रहालय हो । यश ऐतिहासिक संग्रहालयमा महान् लेनिनकै जन्म दिनका दिन अर्थात आजै, सन् २०२५ अप्रिल २२ तारिखमा फिनल्यान्डको एक पुरानो र ऐतिहासिक शहर तामपेरेस्थित तामपेरे वर्कर्स हलमा पुगेर महान् लेनिन प्रति उच्च सम्मानका साथ सलामी चढाएर लेनिनवाद र लेनिनका शिक्षाबाट पाठ सिक्नुपर्ने सवालमा दृढता प्रकट गर्ने महान् लेनिन संग्रहालयको शैक्षिक अवलोकन गर्ने काम समेत सम्पन्न गर्दै लेनिनको बाटोमा अवचलित रुपमा अगाडि बढ्ने दृढता व्यक्त गरियो ।
लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।