सोती घटनाका २३ जनाको जन्मकैद सजाय सदर

२०८२ बैशाख १७ गते, बुधबार

काठमाडौँ । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ। अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। उनले भने- ‘फैसलामा आंशिक उल्टी भएको छ । रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ, जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।’ जन्मकैद २५ वर्ष हुन्छ।
यो घटनामा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो ।
उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो। जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो। जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो। तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो। तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने उपरजिस्ट्रार थापाले बताए। यो फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले जानकारी दिए।
१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु