मेची कोशीमा यातायात खुल्यो
काठमाडौ, २५ साउन । बिगत चार दिनदेखि कोशी अञ्चलमा भएको यातायात बन्द स्थगित भएको छ ।उज्यालो यातायात सहमतिमा आउने भएसँगै बन्द तत्कालका लागि स्थगित गरिएको कोशी बस ब्यवसायी संघका अध्यक्ष कृष्ण सुबेदीले जानकारी दिए ।कोशी अञ्चल अन्तर्गतका ९ वटा संघसंगठनले गरेको बन्द कार्यक्रम जनैपूर्णिमा, बोलबम मेला र गाइजात्रालगायतका चाडपर्वलाई मध्यनजर गर्दै स्थगित गरिएको सुबेदीले जानकारी दिए । यातायात ब्यवसायी संघसंगठनहरुको धरानमा बसेको बैठकले बन्द स्थगित गर्ने निर्णय गरेको हो ।उनका अनुसार बिर्तामोडबाट सुरु भएको उज्यालो यातायातले पनि अस्वस्थ प्रतिस्पर्धा नगर्ने र एकै ठाउँमा बसेर आलोपालो प्रणालीमा चलाउने सहमतिसँगै मेचीको बार्ता पनि सहमति नजिक पुगेको छ ।
यात्रुहरुले दुःख पाएको र ब्यवसायी पनि बोलबम मेलामा सवारीका साधन थन्क्याएर बस्नु पर्ने अवस्थाले गर्दा सबै मिलेर जाने गरी सहमति खोज्ने प्रयास गरिएको सुबेदीले बताए ।
राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महांसघले पूर्वाञ्चलमा भइरहेको यातायातको सिन्डीकेट तोड्ने चेतावनी दिए लगत्तै पूर्वाञ्चलमा गाडी सञ्चालन गरिरहेका फरक फरक संघका व्यवसायीहरु सहमति नजिक पुगेका हुन् ।