पहिले प्रचण्ड बाबुरामलाई कारबाही हुनुपर्छः पौडेल
काठमाडौं, साउन २५ । एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले आफूहरुलाई भन्दा पहिले पार्टी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्ने बताएका छन् ।आफूमाथि भएको कारबाही अस्वीकार्य भएको भन्दै नेता पौडेलले पहिले दुई नेतालाई कारबाही हुनुपर्ने बताएका हुन् ।
‘हामीलाई वादविवाद गरेको भन्दै कारबहाी भयो, मलाई अचम्म लागिहेको छ,’ पौडेलले भने , ‘कारबाही गर्ने हो भने प्रचण्ड र बाबुरामलाई गर्नुपर्छ, उहाँहरु त दिनहुँ बन्द कोठामा छलफल गर्नुहुन्छ ।’ दुवै नेताले यो या त्यो नाममा आ–आफ्नो गुठको भेला गरिरहेको भन्दै सबैभन्दा पहिले उनीहरुलाई कारबाही गर्नुपर्ने बताए ।पौडेलले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न समान्तर समिति भंग गर्नुपर्नेमा जोड दिए । रिपोटर्स क्लवले गरेको कार्यक्रममा पौडेलले पार्टी विवाद अन्त्यका लागि केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्न माग गरे ।
पौडेलले मुलुकलाई संविधान नदिउनजेलसम्म प्रचण्ड र बाबुराम मिलेर जानुको विकल्प नरहेको पनि बताए । पौडेलले वर्तमान सरकारको काम कारबाही चित्त बुझ्दो नभएपनि सरकार परिवर्तन भने गर्न नहुनेमा जोड दिए ।