नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ । नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
अहिले प्रहरी टोली खटिएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।