पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

काठमाडौँ । भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो।
यसैबीच, पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ। पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अहिले प्रहार भएका एयर बेस मध्य एउटा रावलपिण्डीमा रहेको नुर खानको सेनाको मुख्यालयमा लक्षित थियो। सो स्थान राजधानीबाट १० किलोमिटर टाढा छ। पाकिस्तानी सेनाका प्रवक्ताले सो मिसाइल कमजोर रहेको भन्दै पाकिस्तान सामना गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। सीमाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सीमामा रहेका घरहरूको अवस्था दयनीय बन्दै गएको बताइएको छ। दुवै तर्फबाट लगातार प्रहार भएको छ। त्यस क्षेत्रमा युद्ध अझै बढ्दै गएमा स्थानीयलाई बस्नका लागि बङ्कर भने छैन।