युक्रेन रुससँग वार्ताका लागि तयार

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि बिहीबार इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले सिधै वार्ता गर्ने रुसको प्रस्तावलाई स्वीकार गर्न भनेपछि जेलेन्स्कीको अभिव्यक्ति बाहिर आएको हो ।
‘मान्छे मरिरहनु राम्रो होइन । म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि उनले युद्धविराम लागू भएपछि मात्र आफ्नो देश वार्ताका लागि तयार हुने बताउँदै आएका थिए ।
किभमा शनिवार ‘इच्छुकहरूको गठबन्धन’ नामको समूहको बैठक बसेपछि युरोपेली देशहरूले सोमबारबाट नै युद्धविराम हुनुपर्ने आवाज उठाएका थिए । त्यसपछि नै पुटिनले सिधै वार्ताको प्रस्ताव अघि सारेका थिए ।
जेलेन्स्कीले रुस वार्ताको दिन अघि नै युद्धविरामका लागि तयार हुने कुरामा आफू आशावादी रहने बताएका थिए । शनिवार साँझ पुटिनले युद्ध सुरु भएयता पहिलो पटक युद्ध अन्त्यका लागि गम्भीर वार्ताका लागि युक्रेनलाई आह्वान गरेका हुन् । उनले स्थायी शान्तिको लागि यो पहिलो कदम भएको समेत प्रतिक्रिया दिएका थिए । – एजेन्सी