इजरायलद्वारा गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा

२०८२ जेष्ठ ६ गते, सोमबार


काठमाडौँ । इजरायलले १० हप्तादेखिको नाकाबन्दीपछि गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ। इजरायली सेनाको सिफारिसमा गरिएको यो निर्णय ओपरेशन गिडियन्स चारियट नामक हमास विरुद्धको नयाँ सैन्य कारबाहीलाई समर्थन गर्न लिइएको हो।
इजरायलले हमासले मानवीय सहायता वितरणमा नियन्त्रण नलिओस् भन्ने प्रयास गर्ने पनि जनाएको छ। यसैबीच गाजामा इजरायली स्थल आक्रमण तीव्र बनेको छ। खान युनिस, बेत लाहिया र जबालिया शरणार्थी शिविरमा आक्रमण हुँदा पछिल्लो २४ घण्टामा कम्तीमा ६७ जनाको मृत्यु र ३६१ जना घाइते भएका छन्।
आक्रमणपछि इण्डोनेसियाली अस्पतालसहित उत्तरी गाजाका थुप्रै अस्पतालको सेवा बन्द भएको छ। अस्पतालका स्वास्थ्यकर्मीले चेतावनीविनै आक्रमण भएको बताएका छन् । इजरायलले हमासका संरचना र लुकेका केन्द्रहरूलाई लक्ष्य बनाएको दाबी गर्दै अस्पतालमुनि हमासको केन्द्र रहेको आरोप लगाएको छ ।
अर्कोतर्फ, मानवीय संस्थाहरूले गाजामा भोकमरीको जोखिम गम्भीर भएको चेतावनी दिएका छन्। कतारमा युद्धविरामका लागि वार्ता भइरहे पनि हमासले इजरायलको कठोरताका कारण प्रगति नभएको बताएको छ। हमासले पूर्ण युद्धविराम र मानवीय सहायता प्रवेशको सट्टामा सबै बन्धक रिहा गर्ने प्रस्ताव गरेको छ, तर इजरायलले केवल अस्थायी युद्धविराम चाहेको जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु