सुनील पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुसँग अख्तियारले जनही ५ करोड ७९ लाख बिगो दाबी गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारले दायर गरेको मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसीरजीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्राविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको अख्तियारको दाबी छ ।