१० महिनामा १४ खर्बको आयात, २ खर्बको निर्यात

२०८२ जेष्ठ ९ गते, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) सम्ममा आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । यो अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक निर्यात हो । चालु आवको १० महिनामा कम्पनीहरुले गरेको निर्यात गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो । २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
चालु आवको १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर गत आवको तुलनमा १८.३७ प्रतिशत रहेको छ । १० महिनामा व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो।
अघिल्लो आवको १० महिनामा वस्तु निर्यात १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ मात्र रहेको थियो । यस वर्ष ९१ अर्ब ७३ करोड ७५ लाख रुपैयाँले निर्यात बढेको हो । अघिल्लो आव २०८०/८१ को १२ महिना (वार्षिक) मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । यस वर्ष १० महिनामा सर्वाधिक निर्यात भएका पहिलो ५ वस्तुमध्ये दुई वस्तु वनस्पति तेल रहेको छ । १० महिनामा सोयाबिन तेल निर्यात मात्रै ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको भएको छ । यस अवधिमा ३७ करोड ४० लाख ८६ हजार ३६८ किलोग्राम सोयाबिन तेल निर्यात भएको हो । दोस्रो नम्बरमा सनफ्लावर तेल रहेको छ । जुन ४ करोड ५७ लाख ७९ हजार २९ लिटर निर्यात भएको छ । यसको मूल्य १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबर रहेको छ । तेस्रो स्थानमा कार्पेट निर्यात रहेको छ । १० महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको आँकडा छ । चौथो स्थानमा अलैँची रहेको छ । यसको निर्यात ६ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको छ । पाँचौं स्थानमा स्टील तथा आइरन रहेको छ । जुन ४ अर्ब ७९ करोड रुपैयाँ बराबर रहेको छ ।
चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा एक महिनामै २९ अर्ब रुपैयाँले बढेर २ खर्ब १७ अर्ब पुगेको तथ्यांक छ ।

प्रतिक्रियाहरु

[anycomment]