तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध अभियोजनको तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रमाणहरुको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए।
संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ। प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमै छन्। अरु हाजिरी जमानीमा रिहा भइसकेका छन्।