अखिल (समाजवादी)लगायत बिभिन्न संगठनद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत बिभिन्न विद्यार्थी संगठनले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
अखिल समाजवादी, अखिल क्रान्तिकारी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले मंगलबार माइतीघरमण्डलमा संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
उक्त क्रममा प्रदर्शनकारीहरुले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए ।
हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिएपछि यो प्रकरण सार्वजनिक भएको हो। गृहमन्त्री लेखककै सिफारिसमा भट्टराई अध्यागमन विभागको नेतृत्वमा पुगेको भन्दै विपक्षीहरूले उनीमाथि संगठित मानव तस्करीमा संलग्नताको आरोप लगाएका छन्।
उनीहरूले संगठित रूपमा भइरहेको मानव बेचबिखन र त्यसमाथि सरकारकै संलग्नता गम्भीर विषय भएको भन्दै छानबिन निष्पक्ष र निष्कर्षसम्म पुर्याउन जोड दिएका छन्।