‘राष्ट्रका वैरीहरु विरुद्ध चट्याङ भएर गर्जिएका कारण इच्छुकको हत्या भयो’

२०८२ जेष्ठ १४ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य एटम सीले राष्ट्रका वैरीहरु विरुद्ध चट्याङ भएर गर्जिएका कारण पत्रकार कृष्ण सेन (इच्छुक)को अमानवीय यातना दिएर हत्या गरेको बताएका छन । २४ औं कृष्ण सेन (इच्छुक) स्मृति दिवसको अवसरमा आयोजित ‘पुस्तक विमोचन तथा चियापान’ कार्यक्रमलाई मंगलवार वीरेन्द्रनगरमा सम्वोधन गर्दै नेता एटमले राष्ट्रका वैरीहरु विरुद्ध चट्याङ भएर गर्जिएका कारण कृष्ण सेन (इच्छुक)को अमानवीय यातना दिएर हत्या गरिएको बताएका हुन् ।
नेकपा सुर्खेतका इन्चार्ज समेत रहेका नेता एटमले इच्छुक एउटा महान आदर्श, कलमवीर, जनताको पत्रकार, साहित्यकार र कवि भएकै कारण प्रतिक्रियावादीहरुले जेलमै हत्या गरेको टिप्पणी गरे ।
नेता एटमले भने – ‘राष्ट्रका वैरीहरु विरुद्ध चट्याङ भएर गर्जिएका कारण इच्छुकको हत्या भयो । उहाँले साहित्य विधाबाट कलमको बन्दुक वोक्नु भएको थियो । गोयवल्सले बन्दुकको गोली भन्दा कलमको गोली हजार गुणा बढी हुन्छ भनेका थिए । त्यही भएर पनि इच्छुकको कलमलाई दुश्मनले बन्दुक सम्झेर नै यातना दिएर मार्यो’
नेता एटमले जनपत्रकार संगठन नेपालले प्रकाशन गरेको कृष्ण सेन (इच्छुक) स्मृति र आदर्श पुस्तकको समेत विमोचन गर्दै पुस्तकले इच्छुकको वारेमा धेरैकुरा उद्घाटन गरेको बताए । उनले न्याय र समानताको सपना देखेकाले इच्छुकको सपना पुरा गर्न सबै कलमजीवीहरु लाग्नु पर्ने बताए ।
नेता एटमले दलाल पुँजीवादका कारण नेपाल संकटमा परेको भन्दै दलाल पुँजीवादको अन्त्य गरी समाजवादी व्यवस्थामा गएपछिमात्र इच्छुकको सपना पुरा हुने बताए ।
कार्यक्रममा नेकपा सुर्खेतका सेक्रेटरी जीत सीले इच्छुकको योगदानको वारे चर्चा गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकार भएकाले प्रक्रियावादीले हत्या गरेको बताए । जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले इच्छुकको योगदानका बारे चर्चा गरेका थिए ।
कार्यक्रममा अखिल समाजवादीका केन्द्रीय सदस्य तुलाराज सी, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष ज्ञानु सी लगायतका अतिथिहरुले इच्छुकको योगदानका वारे चर्चा गरेका थिए ।
आजभन्दा २४ बर्ष अघि २०५९ जेठ १३ गते आजैको दिन प्रतिक्रियावादी सत्ताले महेन्द्र पुलिस क्लबमा यातना दिएर इच्छुकको हत्या गरेको थियो । – बसन्त विक

प्रतिक्रियाहरु

[anycomment]