बाम्का बजार आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

२०८२ जेष्ठ २५ गते, शनिबार


काठमाडौं । जनप्रतिनिधि राजनीतिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले बाजुराको बाम्का बजारमा शुक्रवार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगंग नगरपालिका-६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।
आगलागीबाट पीडित भएकाहरूको क्षतिपूर्तिका लागि प्रहरीलाई तथ्यांक संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र संघीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए । घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधि राजनीतिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण संकलन गर्ने र सो क्षतिपूर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडी मालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायत सहभागी थिए । बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव रहेको पाइएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]