अंग्रेजलाई हराएको सम्झनामा सिन्दुर जात्रा गरिदै

२०७१ भाद्र २ गते, सोमबार


काठमाडौँ २ भदौ।अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सोमबार सदरमुकाम तानसेनमा सिन्दुर जात्रा मनाइदैछ । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइँदै आएको छ ।
अंग्रेजसँगको युद्धअघि थापाले विजय हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा सञ्चालन गर्ने भाकल गरेको र युद्धमा विजय हासिल गरेपछि १८७६ देखि निरन्तर रुपमा जात्रा मनाउन थालिएको जनविश्वास छ ।
बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेपछि रणउजिरेश्वरी भगवती जात्रा मनाउन थालिएको हो । जात्राको अघिल्लो दिन आइतबार रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउने, राती १२ बजे साइत हेराएर भगवतीको रथ उचाल्ने, बली दिने, सोमबार बिहानैदेखि पूजापाठ गर्ने र दिनभर रथलाई तानसेन बजार परिक्रममा गर्ने प्रचलन छ । जात्रा बजार परिक्रममा गराएपछि मन्दिरमा भित्र्याउने गरिन्छ । जात्राको अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बुटवल, अर्घाखाँची लगायतका ठाउँबाट श्रद्धालुहरु आउने गर्छन् । रथका साथमा नेपाली सेना, प्रहरी, निजामती कर्मचारीहरु, स्थानीय तथा अन्य स्थानबाट आएका भक्तजनहरु र झाँकीको उपस्थिति रहने गर्दछ ।
यो पश्चिम क्षेत्रकै ठूलो रथयात्रा हो । जिल्लाका सरकारी निकाय र स्थानीय बासिन्दा सबैको सहभागिता हुने भएकाले तानसेनमा सोमबार स्थानीय विदा दिइएको छ । कृष्ण जन्माष्टमीको भोलीपल्ट पाल्पाको तानसेनमा विजय उत्सव गरेर रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाउन लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु