आलमलाई सफाई दिने न्यायाधीशलाई कालो मोसो

२०८२ जेष्ठ ३१ गते, शुक्रबार


काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ ।
नेकपा (बहुमत)का कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए । प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा ९बहुमत० का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए ।
यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो ।
आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागेको थियो । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका थिए । तर रिहाइ लगत्तै मस्तिष्कघातका कारण उनी अस्पताल भर्ना भएका छन् ।
आलमलाई सफाइ दिने निर्णयपछि न्यायाधीश थारू र महर्जन विवादमा परेका छन् । उनीहरूमाथि न्याय परिषद्मा उजुरी समेत परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]