पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८२ असार ३ गते, मंगलवार


काठमाडौँ । पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको ‘डाइभर्सन’ बाढीले बगाउँदा सवारी साधन अवरुद्ध भएका छन् । गए राति (असार २)देखिको वर्षासँगै खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन भरतपुरले जनाएको छ । उक्त स्थानमा एक्साभेटर र टिपर प्रयोग गरी काम गरिँदै छ । केही घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा ल्याइने सडक डिभिजनले जानकारी गराएको छ । “पानीको बहाव कम हुँदै गए अबको चार–पाँच घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारु हुने जानकारी गराइन्छ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।
त्यस स्थानमा बाढीले डाइभर्सन बगाउँदा पटक–पटक बाटो अवरुद्ध भएको छ । बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन् । साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको छ । तर त्यसरी गएका सवारी साधन पनि नवलपरासी पश्चिममा पर्ने दुम्किबास दाउन्नेको उकालोको हिलाम्मे सडकमा फसिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालको भनाई छ ।
दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा लामो समयदेखि नै समस्या हुँदै आएको छ। हिलो र चिप्लो सडकमा गाडी चलाउन समस्या भएपछि दुम्किबास क्षेत्रमा अहिले सयौँ सवारी साधन रोकिएका छन्। नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते भाँचिएपछि त्यस क्षेत्रमा गाडी सञ्चालनमा समस्या हुँदै आएको छ।

प्रतिक्रियाहरु

[anycomment]