एसईई नतिजा असार तेस्रो साता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको बताउदै भने- ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन। ’
उनले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बताउदै भने- ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं। ’
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।