बाढी पहिरो पीडितप्रति सरकारी बेवास्ता

२०७१ भाद्र ३ गते, मंगलवार


काठमाडौ, ३ भदौ ।सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र नपार्दा बाँके, बर्दिया र सुर्खेतका विस्थापितको विचल्ली भएको छ । सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र पारेको बताएपनि आफुहरु भोकै बस्नुपरेको पीडितको गुनासो छ ।खानेकुरा, लत्ताकपडा लगायतका सरसामान सबै बाढीले बगाएपछि विस्थापितहरुले खान र सुत्न पाएका छैनन् । केही ठाउँमा ज्वरो, झाडापखाला लगायतको संक्रमण फैलिएको छ । बालबालिका, बृद्धबृद्धा, सुत्केरी र गर्भवती थप समस्यामा छन् । कतिपय घरमा महिला, बालबालिका र बृद्धबृद्धा मात्र भएकाले सहयोग गर्ने मानिस समेत छैनन् ।
सरकारले भने बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाको कामलाई सक्दो प्रभावकारी बनाउने प्रयास भैरहेको जनाएको छ । गृह मन्त्रालयका अनुसार सरकारी निकाय, रेडक्रस, स्थानीय व्यवसायी संघ संस्था समेतको सहयोगमा पीडितलाई राहत वितरणको काम भैरहेको छ ।
विस्थापित परिवारलाई चिउरा, चाउचाउ, विस्कुट, चिनी, पानी, पियूष लगायतका सामग्री वितरण गर्ने गरिएको मन्त्रालयले जनाएको छ । गएको हप्ता आएको बाढी पहिरोबाट देशका बिभिन्न ठाउँमा गरी एकसय ५ जनाको ज्यान गएको छ । अझै एकसय ३६ जनाको अवस्था थाहा हुन नसकेको मन्त्रालयले जनाएको छ ।
बाढी पहिरोबाट २० हजारभन्दा धेरै परिवार विस्थापित भएका छन् । यसैबीच संसद वैठक एक हप्ताका लागि स्थगित भएपछि सभासदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जाने भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु