तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

काठमाडौँ । ओखलढुङ्गा मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी हीरा तामाङलाई ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए। उनले भने – ‘नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो । ‘
गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ ।
हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ ।