इरानमाथि अमेरिकी आक्रमण निन्दनीय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गरेका छन् । ति पार्टीद्वारा आइतबार जारी संयुक्त बिज्ञप्तिमा भनिएको छ – ‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ। त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’
नेकपा महासचिव बिप्लव सी , नेकपा माओवादीका महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव आहुति, नेकपा (बहुमत)का कृष्णप्रसाद धमला र नेकपा, उपाध्यक्ष रामबहादुर भण्डारीलगायतले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ यो गम्भीर युद्ध अपराध हो। यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ ।’
उनीहरुले विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनुपर्ने समेत बताएका छन् ।
