‘साम्राज्यवाद भनेकै युद्ध हो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नौ कम्युनिस्ट पार्टीले साम्राज्यवाद भनेकै युद्ध भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा माओवादी केन्द्र , नेकपा मसाल , राष्ट्रिय जनमोर्चा ,नेकपा एकीकृत समाजवादी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत) लगायत नौ कम्युनिस्ट पार्टीद्वारा बुधबार आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साम्राज्यवाद भनेकै युद्ध भएको ठोकुवा गरेका हुन् । उक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साम्राज्यवादले युद्धको खेती गरि रहेको तथ्य प्रस्तित गर्दै साम्राज्यवाद रहँदा सम्म युद्ध रहि रहने जिकिर गरेका थिए। उनीहरुले इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमण तत्काल बन्द गर्न माग गर्दै न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी रहेको समेत बताएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख एवम् माओवादी नेता अग्निप्रसाद साप्कोटाले अहिले बिश्वमा कुनै सरकार र बिधिबिधान भन्दा पनि एउटा सानो समुहले बिश्वका जनताको भावनाबिपरित जहाँ जे मन लाग्यो त्यहि गरिरहेको उल्लेख गर्दै त्यसको अन्तिम समाधान क्रान्ति र समाजवादले मात्रै दिनसक्ने बताए भने नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले जनताका रास्ट्रीय स्वाधीनताका लागि भएका आन्दोलनलाई दमन गर्ने र अमेरिकी श्रेष्ठताको सिद्धान्तको दाबी गर्ने अमेरिकी साम्राज्यवाद बिरुद्ध बिश्वब्यापी प्रतिरोध संघर्ष जरुरी रहेको बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य चिरन सीले साम्राज्यवाद शान्ति, बिकास र जनअधिकारको साझा समस्या भएकोले लेखक, साहित्यकार, कलाकार,पत्रकार लगायत सबै स्रष्टाहरुले साम्राज्यवाद बिरुद्द मोर्चा कस्न जरुरी रहेको बताए।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक सम्वाद थालनीका संयोजक संगीत श्रोताले कुनै पनि सार्वभौम देशमाथि भएको आक्रमण गलत छ भन्नु हरेक सचेत नागरिकको दायित्व भएको बताए। उनले मध्येपूर्व लगायत बिश्वका विभिन्न देशमा नेपाली युवायुवतीहरुको सुरक्षाको सवाललाई समेत बिचार गरेर अमेरिकाको उक्साहटमा इजरायलले इरान र प्यालेस्टाइनमा गरेको आक्रमण गलत र शान्तिबिरोधी कदम भएको बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बैज्ञानिक कम्युनिस्ट पार्टीकी नेतृ राजेश्वरी सुवेदीले दशकौंदेखि प्यालेस्टाइनी जनतालाई लखेटेर इजरायली राज्य खडा गरे देखि नै समस्या उत्पन्न भएको धारणा राख्दै उक्त घटनाले नेपालका बामपंथी कम्युनिस्ट आन्दोलनलाई छुनुपर्ने बताइन्।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाले अमेरिकी साम्राज्यवादले गत १०० बर्षमा बिश्वका कैयौं देशमा हमला गर्ने, सत्ता परिवर्तन गर्ने र दलाल खडा गर्ने तथा सत्तापलट गर्ने काम गरेको सन्दर्भ स्मरण गर्दै त्यसैको पछिल्लो कडी इरानमाथिको हमला भएको बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आणविक हतियार सम्पन्न अमेरिका र इजरायलले इरानले आणविक हतियार बनाउन लागेको भनेर हमला गर्नु उनिहरुको सैन्य दादागिरी भएको बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको तर इरानको सरकार सही छ भनेर होइन, इरानको सार्वभौमिकतामाथि आक्रमण गरिएकोले समर्थन गरेको बताए । उनले भने- “इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देशमाथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्याक्रमणमा जानू पनि न्यायोचित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको जि सेभेनको बैठकबाट अमेरिका फर्किएर दुई हप्ता गृहकार्य गरेर म निष्कर्षमा पुग्छु भनेका थिए । युद्ध विराम गराउँछु भनेका थिए । तर दुई दिनमै उनले ईरानमाथि आक्रमण गरे । उनी बोलीको कुनै ठेगान नभएका व्यक्ति हुन । साम्राज्यवादले युद्धको खेती गरेको छ । साम्राज्यवाद भनेकै युद्ध हो । साम्राज्यवाद रहँदा सम्म युद्ध रहिरहन्छ । न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी छ ।”
कार्यवाहक महासचिव गजुरेलले नेपाली राजनीतिमा तीनवटा राजनीतिक धार वा शक्ति रहेको चर्चा गर्दै यथास्थितिवादी राजनीतिक धार तथा शक्ति, जसले अहिलेकै लोकतान्त्रिक गणतन्त्रलाई सर्वेसर्वा ठान्ने शक्ति, दोस्रो प्रतिगामी राजावादी शक्ति र तेस्रो अग्रगामी तथा क्रान्तिकारी शक्ति रहेको बताए । उनले भने- , “१७ वर्षसम्म संघीय लोकतान्त्रिक गणतन्त्रले किन जनताको जीवनमा कुनै परिवर्तनको महसुस गराउन सकेन ? यो प्रणालीबाट त्यो सम्भव नै छैन । त्यसैले यो भन्दा अग्रगामी र वामपन्थीहरुको आफ्नै एजेण्डा भनेको संघीय जनगणतन्त्र हो, अब सबै वामहरु संघीय जनगणतन्त्रको दिशामा अगाडि बढौं । राजतन्त्रको त कल्पनै नगरौं, त्यो फर्किन अब सम्भव छैन ।”
कार्यवाहक महासचिव गजुरेलले नेपालका वाम भनिनेहरुले कांग्रेसको एजेण्डा बोकेर हिडेको चर्चा गर्दै भने – “कहिलेसम्म अरुको एजेण्डा बोकेर हिड्ने नेपालमा वामहरुले, कांग्रेसको एजेण्डा किन बोकेर हिड्ने, वामहरुको आफ्नै एजेण्डा भनेको संघीय जनगणतन्त्र हो, यही एजेण्डाको दिशामा सबै बामहरु एक भएर अगाडि बढौं न ।”
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकाले सन् २००१ देखियता ६० खर्व डलर युद्धमा खर्च गरेको तथ्यांक रहेको उल्लेख गर्दै त्यसले मानिसलाई अपांग बनाउने, हत्या गर्ने , बिस्थापित गर्ने र भय सिर्जना गर्दै आफ्नो प्रभुत्व टिकाउने साम्राज्यवादी प्रभुत्व स्थापित गरेको बताएका थिए भने नेकपा मसालका नेता भैरब रेग्मीले साम्राज्यवादबिरोधि मोर्चामा साझा सहकार्य र एकताबद्द हुनुपर्ने आबश्यक्ता रहेको भन्दै बामपंथीहरुबिचका मतभेदलाई बिमर्श गर्दै एकताको दिशामा पहल गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमको अध्यक्षता लिलामणी पोख्रेलले गरेका थिए भने संचालन् बलराम बास्कोटाले गरेका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा स्वागत चिरञ्जीवी सी र धन्यवाद व्यक्त भैरब रेग्मीले दिएका थिए भने हेमराज आश्रम (रक्तिम परिवार) ले शिशिर चिर्ने बोलको गीत प्रस्तुत गरेका थिए ।