प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

२०८२ असार १४ गते, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। शनिबारकाे प्रतिनिधिसभामा उनले भ्रमण तालिकाबारे पनि स्पष्ट पारे। संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। हरेक एक दशकमा आयोजना उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पनि संयुक्त राष्ट्रसंघको महासभामा जस्तै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूकाे सहभागिता हुन्छ ।
प्रधानमन्त्रीकाे नेतृत्वकाे भ्रमण टाेलीमा २१ जना सहभागि हुनेछन्। जसमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधिसमेत हुनेछन्।
परराष्ट्रमन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा सामेल छन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरूकाे भ्रमण टाेलीमा छन्।
यस्ताे भ्रमण तालिका:–
असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ । लगत्तै प्रधानमन्त्रीले नागरिक समाजले आयोजना गर्ने प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरूको सहभागिता हुने छ ।
साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ। असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ ।
असार १६ गतेको कार्य तालिका बाक्लो छ । बिहान प्रधानमन्त्री नेतृत्वकाे टाेली उद्घाटन सत्रमा सहभागिता हुनेछ । अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सहभागी हुनेछ। साेही दिन दिउँसो १ बजे मित्रराष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ । दिउँसो ३ देखि ४ बजेको बीचमा अल्प विकसित राष्ट्रहरू (एलडिसी)को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन्। अपरान्ह ४:०० देखि ५:१५ को बीचमा तीनवटा द्विपक्षीय बैठक हुनेछन्। जसमा इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुलीसँग, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग र संयुक्त राष्ट्रसंघ महासचिव महामहिम अन्तोनियो गुटरेससँगको बैठक छ।
१६ असारकाे अन्तिम कार्यक्रम, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ । असार १७ गते पहिलो कार्यक्रम, प्रधानमन्त्रीले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिनेछन्। बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बाेधन हुनेछ। दिउँसाे १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई प्रधानमन्त्री ओलीले सम्बाेधन गर्नेछन्। अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सहभागी हुने र दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम छ । साेही दिन साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा भ्रमण दल सहभागिता हुनेछ ।
पाँचौं दिन, असार १८ गते प्रधानमन्त्री नेतृत्वकाे टाेली सेभियाबाट म्याड्रिड फर्किने छ। म्याड्रिड पुगेसँगै साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्द्धन साँझ नामक कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँको प्रतिष्ठित व्यावसायिहरूसँग भेट गर्नेछन्।
असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्रीले रियल म्याड्रिड फुटबल क्लवका अधिकारीहरूसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ । साेही स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ । साेही दिन राति १०:४५ बजे दोहाको लागि प्रस्थान गर्ने टाेली असार २० गते अपरान्ह ४:४५ बजे काठमाडौंमा आइपुग्ने तालिका छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु