थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राको राजीनामाको माग

२०८२ असार १६ गते, सोमबार

काठमाडौँ । थाइल्यान्डमा सरकारविरोधी प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रधानमन्त्री विरुद्धको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । कम्बोडियाली नेतासँगको टेलिफोन संवाद र देशको सेनाबारे प्रधानमन्त्री सिनावात्राको विवादास्पद अभिव्यक्तिलाई लिएर सर्वसाधारण नागरिक यति बेला रुष्ट बनेका छन् । कम्बोडियाका एक अग्रज नेतासँग दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको संवाद सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा तानिएकी हुन् । केही दिनअघि भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले ती नेतालाई ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन् भने सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ को संज्ञा दिएकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]