शिक्षा विधेयक जारी गर्न विलम्ब भए आन्दोलन !
 
                काठमाडौँ । नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै शिक्षा विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए पुन: आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको । महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राख्दै जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘२०८२ वैशाख १७ गते राज्य पक्ष र महासंघबीच महत्वपूर्ण सहमति भयो, त्यो सहमतिमा महासंघसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरूप असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन
त्यसैले संसदको शिक्षा समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमतीहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’विज्ञप्तिमा उल्लेख छ।
सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए। तर,यो समयमा शिक्षा विधेयक जारी हुन सकेन।
यसैबीच , नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको छ । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले अहमति जनाएका हुन् । मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएकाछन् ।
महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी भएका थिए ।

 
                 
                             
                             
                         
                         
                        