इजरायलद्वारा गाजामा आक्रमण : ९५ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ९५ जनाको मृत्यु भएको छ। क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। गाजाको समुद्री तटमा रहेको अल–बाका क्याफेटेरियामा भएको हवाई आक्रमणमा ३९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला, बालबालिका तथा पत्रकारहरुसमेत रहेको बताइएको छ।आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन्। यस्तै इजरायली सेनाले खान युनिसमा रहेको एउटा मानवीय सहायता केन्द्रमा आक्रमण गरेको छ। खाद्यान्न लिन लाइन लागेकाहरुमाथि गरिएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।इजरायली सेनाले बम खसाल्दा त्यस क्षेत्रमा शक्तिशाली भूकम्पको महसुस गरेको पीडितहरुले बताएका छन्। यस्तै सयौँ मानिसले शरण लिइरहेको गाजासिटीको याफा स्कुलमा पनि बमबारी भएको छ। उक्त आक्रमणमा पनि कयौँ मानिस हताहत भएका छन्। गाजामा जारी इजरायली आक्रमणमा ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। – एजेन्सी