ट्रम्पद्वारा इजरायल गाजामा युद्धविराम गर्न सहमत भएको दाबी !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गजामा युद्धविरामका लागि तयार भएको दावी गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टमार्फत इजरायल गजामा ६० दिनको युद्धविरामका लागि प्रस्तावित सर्तहरुमा सहमत भएको बताएका हुन्। युद्धविरामका लागि कतार र इजिप्टले पनि पहल गरिरहेको ट्रम्पले बताएका छन्। ती दुई देशले नै युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिनेछन्।
ट्रम्पले युद्धविरामका लागि हमास पनि सहमत हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले लेखेका छन् – ‘अब हमास पनि सहमत हुनेछ। किनकी यो राम्रो हुँदैन बरू खराब हुँदै जान्छ ।’
इजरायल र हमासबीच युद्धविरामको कैयौं पहल भए पनि टुंगिएको छैन। हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्। पटक पटक युद्धविराम भएर बन्धक रिहा गरिए पनि विपिनको अवस्था भने लामो समयदेखि अज्ञात छ। सरकारले उनलाई फिर्ता ल्याउन युद्धविरामको मध्यस्थता गरिरहेका देशहरूसँग आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ।