एमसीसीले निरन्तरता पाउने !

काठमाडौँ । नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। एमसिए नेपालले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी सरकारको यो निर्णयलाई स्वागत गरेको छ।
एमसिए–नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग गरिरहेको छ। एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि एमसिसीलाई ९० दिनको पुनर्मूल्यांकन समय राखेर त्यसअन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो। तर, चैत ८ गते एमसिसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र पठाएको थियो।