अन्तर्राष्ट्रिय स्तरको पावर समिट हुँदै

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी असोज १ र २ गते अन्तर्राष्टिय स्तरको पावर समिट, २०२५ आयोजना हुने जनाएको छ । इप्पानले बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी असोज १ र २ गते अर्थात् तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ नारासहित कार्यक्रम हुने जानकारी दिएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा ऊर्जा क्षेत्रमा अन्तर्राष्टिय पावर समिट आयोजना गरिएको बताए ।
उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गराउन ३० भन्दा धेरै देशका लगानीकर्ता, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत सरोकारवाला निकायलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने समिटको मुख्य उद्देश्य रहेको बताए ।
यसैगरी , उक्त पत्रकार सम्मेलनमा पावर समिट संयोजक आनन्द चौधरीले नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरी पावर समिट आयोजना गरिएको बताए ।
यसैगरी , उक्त पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षण र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीको सहभागितामा वृहत् रुपमा समिट आयोजना गर्न लागिएको बताए ।