कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।