इजरायलद्वारा गाजामा हवाई आक्रमण : ८२ जना मारिए

२०८२ असार २३ गते, सोमबार


काठमाडौँ । इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणवाट कम्तीमा ८२ जना मारिएका छन् । यो आक्रमणमा गाजा सिटीमा मात्रै ३९ जना मारिएका छन्। यो आक्रमण उसैबेला भएको हो जब इजरायल र हमासबीच कतारमा युद्धविरामको वार्ता पुनः सुरु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता नै युद्धविरामको सहमति हुन सक्ने बताएका छन्।
इनरायली बमबारीले गाजा सिटीमा विनाशकारी अवस्था ल्याएको छ। शेख रेदवान क्षेत्रमा बाँच्न सफल मानिसहरूले त्यसपछिको अवस्था “प्रलयजस्तै” भएको बताएका छन्। स्थानीय बासिन्दाहरू भग्नावशेषबाट शवका अङ्गहरू निकाल्दै र भग्नावशेषमुनि च्यापिएका घाइतेहरूलाई बचाउन लागि परेका देखिन्छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार वाशिंगटन डीसी पुग्ने कार्यक्रम छ। यो वर्ष राष्ट्रपति ट्रम्पसँगको यो तेस्रो भेटवार्ता हुनेछ। भेटवार्तामा दुई प्रमुख मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी र इजरायली सेनाले इरानको आणविक पूर्वाधारलाई “पूर्ण रूपमा ध्वस्त” पारेको दाबी गरेका छन् र यदि इरानले पुनः आणविक गतिविधि सुरु गरेमा फेरि आक्रमण गर्ने चेतावनी दिएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]