एनएसपिएल असोज १५ देखि

काठमाडौँ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै सो प्रतियोगिताको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार स्ट्रिटदेखि स्टेडियमसम्म भन्ने आफ्नो नारालाई सार्थकता बनाउन यो प्रतियोगितामा सामान्य खेलाडीको सहभागिता रहने गरी तयारी गरिएको बताएको छ । त्यसैले पनि यस प्रतियोगिता टेनिस बलबाट खेलाउन लागेको उल्लेख गरेको छ । यस एनएसपिएलमा सातवटा फ्रान्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसका लागि छिट्टै फ्रेन्चाइज टिमको खरिद प्रक्रिया र खेलाडीको अक्सन गरिने नेपाल स्ट्रिट प्रिमियर लिगका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए । एउटा टिम खरिद गर्नको लागि ३० हजारदेखि एक लाखसम्म मूल्य तय गरिएको छ । अक्सनमा आफ्नो नाम दर्ता गर्नका लागि खेलाडीले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले उल्लेख गरेको छ ।
टेनिस बलको प्रतिस्पर्धा भएकाले नेपाल क्रिकेट संघ (क्यान)ले यस प्रतियोगिताको लागि स्वीकृत दिएको छैन । तर आयोजकका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट यो प्रतियोगिता आयोजनाका लागि स्वीकृत लिएको छ । डबल राउन्ड रविन लिगको आधारमा यो प्रतियोगिता हुनेछ । लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
आयोजकले यो प्रतियोगिताका लागि अभिनेता निखिल उप्रेतीलाई ब्रान्ड एम्बेस्टरमा घोषणा गरेको छ । सोमबार नै आयोजित पत्रकार सम्मेलनमा अभिनेता उप्रेती र आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली चेयरमेन ज्ञानु सिंह र अभिनेता निखिल उप्रेतीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा अभिनेता उप्रेतीले आफू पनि मार्सलाको खेलाडी भएकाले खेलाडीको समस्या नजिकबाट बुझेको बताए । देश र राष्ट्रको पहिचान दिलाउन सबैभन्दा सक्षम खेलाडी नै रहेको तर नेपालको खराब राजनीतिले गर्दा खेलाडीहरूको राम्रोसँग वृद्धि विकास हुन नपाएको उनले औल्याए । देश र राष्ट्रलाई चिनाउने खेलकुदमा जोडिने लक्ष्यका साथ यो प्रतियोगितामा आबद्ध भएको उनको भनाइ छ ।
प्रतियोगितामा कुल २२ खेल हुनेछ । एनएसपिएलले प्रत्येक महत्वाकांक्षी क्रिकेटरले राष्ट्रियस्तर सम्म पुग्नका लागि यस प्रतियोगिताबाट आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर गर्न पाउने आयोजकको विश्वास छ । टेनिस बलमा प्रतिस्पर्धा हुने भएपनि यस प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने आयोजकले दाबी गरेको छ ।