वाणिज्य बैंकहरुको मुनाफा घट्यो, विकास बैंक बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुको मुनाफा घटेको छ भने विकास बैंक बढेको छ।
यस अवधिमा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको छ भने ११ बैंकको नाफा घट्न पुगेको छ ।
११ महिनासम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा नाफा कमाउने बैंक बनेको छ । बैंकको नाफा १।१० प्रतिशतले मात्रै बृद्धि भएको छ ।
त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड, एभरेष्टले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबीले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले २ अर्ब ५७ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड र सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ ।
यसका साथै कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआइसी एशियाले ८२ करोड ९७ लाख र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
सो अवधिसम्म सबैभन्दा बढी नाफा बढाउने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले १८५.२७ प्रतिशतले नाफा बृद्धि गरेको छ । यता सबैभन्दा नाफा घट्ने बैंकमा भने कुमारी बैंक रहेको छ । बैंकको नाफा ७७.८४ प्रतिशतले घटेको छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३.८१ प्रतिशत बढी हो । गत वर्ष जेठ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा १२ बैंक नाफामा देखिएका छन् भने तीनवटा विकास बैंकले घाटामा देखिएका छन् । नाफामा रहेका बैंकमध्ये पनि ९ वटाको नाफा गत आवको तुलनामा बढेको छ भने तीनवटाको घटेको छ ।
जेठ मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख, ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख, र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता तीन विकास बैंकले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
सबैभन्दा बढी नाफा बढाउने बैंकमा मितेरी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ६७.९० प्रतिशत बृद्धि भएको छ ।
त्यस्तै, सबैभन्दा बढी नाफा घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ४८.३० प्रतिशतले घटेको छ ।