आइतबारदेखि भारी वर्षाको सम्भावना

२०८२ श्रावण ३ गते, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने सम्भावना रहेको छ । विभागका मौसमविद्‌ सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि पर्सिदेखि मनसुन सक्रिय हुने सम्भावना छ । पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद्‌ अधिकारीले भने, ‘उत्तर प्रदेश आसपास भएको जुन न्यूनचापीय रेखा छ, अलि माथितिर (नेपालतिर) आउने देखिन्छ, त्यसले गर्दा वर्षा बढ्ने छ ।’
यसअघि बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सरिरहेको थियो । त्यसको प्रभावले सुक्खाको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा पनि राम्रै वर्षा गराउने पूर्वानुमान गरिएको थियो ।
वर्षाको मात्रा बढ्दा बाढी पनि आउन सक्ने भन्दै मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहितका ३६ जिल्लामा बाढीको मध्यम जोखिम हुनसक्ने भनेर ‘एलो अलर्ट’ जारी गरेको थियो । तर त्यो प्रणाली मध्य बिहार हुँदै भारतको इलाहाबादतर्फ गएको थियो । त्यसको बादलको बाहिरी घेराले मात्र छोएकाले तराई मधेशका केही जिल्लामा हल्का मात्र वर्षा गराएको थियो । केही गाउँमा भने बादल मात्र लागेको थियो ।
मौसमविद्‌ अधिकारीले अहिलेको नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान गर्दै भने- ‘हिजो–आज नेपालको मध्य र पश्चिमी भूभागमा वर्षा केही बढाएको त थियो, तर त्यो नेपाल नजिक नभएकाले त्यति ठूलो पानी पार्न भने सकेन। अब पूर्वतिर न्यूनचापीय रेखा अलि माथितिर आउने भएकाले वर्षा अलिकति बढ्नेजस्तो देखिन्छ ।अहिलेसम्मको अवस्था हेर्दा शनिबार रातिदेखि वर्षा हुने र आइतबारदेखि सोमबारसम्म भारी वर्षा हुनसक्ने भनेका छौं, त्यसलाई अध्यावधिक गर्दै जानेछौं ।’

प्रतिक्रियाहरु

[anycomment]