नेकपा (एकीकृत समाजवादी) र नेपाल राष्ट्रिय एकता अभियानबीच एकता

२०८२ श्रावण ४ गते, शनिबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेपाल राष्ट्रिय एकता अभियानबीच एकता भएको छ। उक्त एकता कार्यक्रमलाई सम्बोधन गर्दै
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए । उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे। उनले कम्युनिष्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताए।
अध्यक्ष नेपालले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महशुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताए। आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पारे।
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दावी गरे ।
उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे। एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी)मा आएको बताए। नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताए।

यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आ–आफ्ना स्वार्थ र घमण्ड त्याग्ने हो भने अहिले नै वामपन्थीहरुको सरकार बन्ने सम्भावना रहेको बताए । उनले भने-‘कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने अहिले पनि संसद्मा हामी १३२ भन्दा बढी सिटमा छौं । एकआपसमा राम्रो समझारी हुने हो भने अहिले पनि वामपन्थी सरकार यो देशमा बन्न सक्छ । तर, जुन प्रकारले दम्भ, घमण्ड, आत्मकेन्द्रीत चिन्तन भएका मानिसहरुले कतिपय वामपन्थी समूहहरुको नेतृत्व गरिराखेका छन्। ‘
नेता खनालले देशमा वामपन्थीहरु विभाजित हुने, दक्षिणपन्थीहरुलाई हर प्रकारले फाइदा हुने यो प्रक्रिया जारी रहेको बताउदै दक्षिणपन्थीहरुलाई फाइदा हुने प्रक्रिया नरोकेको खण्डमा ०८४ को मिसन भासभुस हुने दाबी गरे । उनले आफूहरुबीचको एकताले पार्टीलाई बलियो र अझ क्रान्तिकारी बनाएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]