नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिकद्वारा राजीनामा

२०८२ श्रावण ५ गते, आईतवार


काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई राजीनामा बुझाएका हुन्।उज्वेकिस्तानमा‌ एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो।
उज्वेकिस्तानबाट झन्डै दुई साता अघि टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड स्वदेश फर्केका थिए। असार २५ गते टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, व्यवस्था विन्द्रा देवान,सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तान विकसित घटनाक्रमको जिम्मेवार डे वाइल्ड रहेको आरोप लगाएका थिए।
त्यसको केहि दिनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा स्पष्टीकरण सोधेको थियो। उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुने नहुने जवाफ एक साता भित्र दिन पनि भनिएको थियो। उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको स्रोतले जानकारी दियो।
डे वाइल्डले नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।

प्रतिक्रियाहरु

[anycomment]