उदयपुर बन्द
काठमाडौ, ८ भदौ । निर्माण क्षेत्रका मजदुरहरुले नदीजन्य पदार्थ निकासीको माग गर्दै उदयपुर बन्द गराएका छन् ।असार २ गते सरकारले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा ओसारपसारमा रोक लगाएपछि निर्माण क्षेत्रका मजदुरको जिविकोपार्जनमा नकारात्मक प्रभाव पारेको भन्दै उनीहरुले बन्द गराएका हुन् ।
बन्दका कारण उदयपुरको यातायात सेवा ठप्प भएको छ भने पसल, बजार बन्द भएका छन् । विहानैदेखि मजदुरहरु सडकमा उत्रिएर सवारी साधन रोक्नुका साथै बजार, पसल बन्द गराउदै हिँडेका छन् । बन्दका कारण सदरमुकाम गाईघाटबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यात्रुहरु अलपत्र परेका छन् । विदेशबाट फर्किएका यात्रु तथा बृद्धबृद्धा तथा बालबालिका बन्दमा बढि प्रभावित बनेका छन् ।
नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) उदयपुरको अगुवाइमा मजदुरहरुले बन्द गराएका हुन् । दुई चरणको आन्दोलनसम्म सरकारले माग सुनवाई नगरेपछि तेस्रो चरणको आन्दोलन अन्तर्गत बन्द गरेको मजदुरहरुले बताएका छन् । यसअघि उनीहरुले धर्ना, जुलस लगायतका कार्यक्रम मार्फत सरकारको निर्णयको विरोध गर्दै आएका थिए ।
सरकारले ढुंगा, गिटी, बालुवा निकासीमा रोक लगाएपछि दुई महिनादेखि देशकै सबैभन्दा ठूलो उद्योग उदयपुर सिमेण्ट उद्योगको सिमेण्ट विक्री ठप्प छ । विकास निर्माणका काम ठप्प भएपछि उद्योगको बिक्री पनि ठप्प भएको हो । नदीजन्य पर्दाथमा रोक लगाइएपछि यहाँका निर्माण सम्बन्धी व्यापारसमेत घटेको छ ।