आज कुसे औंशी तथा बाबुको मुख हेर्ने पर्व

२०७१ भाद्र ९ गते, सोमबार


काठमाडौं, ९ भदौ । आज कुशे औसी तथा बाबुको मुख हेर्ने पर्व देशभरका हिन्दू धर्माबलम्बीहरुले भब्य रुपमा मनाइरहेका छन् । विभिन्न मिठाई फलफूल भोजन गराई छोराछोरीले यो खुसियालीपूर्वक मनाउने गर्दछन् ।प्रत्येक वर्ष भाद्रकृष्ण औंशी तिथीका दिन छोराछोरीले आ–आफ्ना बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ । बाबु नहुनेहरुले काठमाडौंको उत्तरबाहिनी गोकणेश्वर महादेवमा पितृको श्राद्ध तथा तर्पणादि गरी जन्मदिने बाबुप्रति श्रद्धासुमन व्यक्त गरिरहेका छन् ।
देवघाट, स्वर्गद्धारी, रुरुक्षेत्र, विन्ध्यवासिनीलगायतका धार्मिक स्थलमा पनि श्राद्ध तर्पण गर्नेको भीड लागेको छ । मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।
कानुन अनुसार धर्मपुत्रले पनि बाबुको अनुहार हर्ने गर्छन् । यता, नेवार समुदायमा भने दिवंगत बाबुको नाममा आफ्ना पुरोहित, ब्राह्मण वा बज्राचार्यलाई निःसला अर्थात् सीदा दिने चलन छ ।
काठमाडौंको जनबहाः स्थित सेतो मत्स्येन्द्रनाथ तथा अरु देवदेवीको मन्दिर वरपर सीदा दान दिने र लिने ब्राह्मण र बज्राचार्य हुन्छन् । यसैबीच, ब्राह्मण पुरोहितहरुले आजकै यस दिन नयाँ कुशलाई मन्त्रद्वारा शोधन गरी आ–आफ्ना यजमानको घरमा पुर्‍याई सीदा ग्रहण गर्ने भएकाले हिन्दूहरुले यस पर्वलाई कुशे औंशी पनि भन्ने गर्दछन् ।
वर्षभरि हुने सबै प्रकारका शास्त्रीय कर्म गर्दा कुशलाई पवित्र मानी प्रयोग गर्ने गरिन्छ । सोमबारको दिन कुशे औंसी पर्‍यो भने त्यस दिन काटिएको कुशले १२ वर्षसम्म पूजा गर्न मिल्ने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु