ट्रम्पद्वारा हमास युद्ध रोक्न नचाहेको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्ध रोक्न नचाहेको आरोप लगाएका छन्। उनले हमास युद्धविरामको कुनै पनि सम्झौतामा पुग्न नचाहेको, बरु मर्न चाहेको टिप्पणी गरेका हुन्।
ट्रम्पले बन्धक रिहाइका लागि पनि हमास तयार नभएको बताउदै भने- ‘अब अन्तिम बन्दीहरू छन् र उनीहरूलाई थाहा छ कि, अन्तिम बन्दीहरू मुक्त भएपछि के हुन्छ। ’
ट्रम्पले गाजामा रहेका अन्तिम बन्धकहरु रिहाईपछि हमासविरुद्ध थप शक्तिशाली आक्रमण हुने संकेत गरे। उनले मध्यपूर्वका लागि अमेरिकी दूत स्टीभ विटकोफले पनि हमासको युद्धविराममा रुचि नरहेको र वार्ता बाट बाहिर निस्केको बताए। उता इजरायलले कतारबाट आफ्ना वार्ताकारलाई फिर्ता बोलाएको छ। तर, हमासले भने युद्धविरामको प्रयास भइरहेको दाबी गरेको छ। बन्धकहरूको रिहाइ र गाजामा इजरायली आक्रमण रोक्ने भन्दै लामो समयदेखि युद्धविरामको प्रयास भइरहेको छ। तर पटकपटकका युद्धविराम सफल भएका छैनन्।