नेपाल प्रहरीमा ५.९५ प्रतिशत जनशक्ति रिक्त

२०८२ श्रावण १२ गते, आईतवार


काठमाडौँ । नेपाल प्रहरीमा ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको बताइएको छ। आइतवार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको बताएका हुन् ।
प्रवक्ता घिमिरेले विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६ रहेको पनि बताए। उनले सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताउदै भने- ‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ हो। अहिले ४ हजार ७३५ खाली छ। विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६ रहेको छ। सिनियर अफिसरहरूको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरु गणना गर्दा २.८४ प्रतिशत रहेको छ। प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ।’
प्रवक्ता घिमिरेका अनुसार तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ।

यसैगरी,प्रवक्ता तथा डीआईजी घिमिरेले आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको बताए ।
यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९२४ जना छन् ।
त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।

यसैगरी, प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१–८२ मा ३ हजार ७५३ उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको बताए । उनले ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए । उनले इ–कम्प्लेन, अख्तियार, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंममार्फत र हुलाकबाट उजुरी आउने गरेको बताए । जसमध्ये सबैभन्दा बढी हेला सरकारमार्फत १९ सय ६ उजुरी आएको प्रहरीको तथ्यांक छ ।

प्रतिक्रियाहरु

[anycomment]