प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन । प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमासमेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछ ।
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ । समुद्रसँग पहुँच अभावका कारण विश्वव्यापी बजारबाट टाढा रहेका, पर्याप्त यातायात र खाद्यान्नका लागि आवश्यक पूर्वाधार अभावजस्ता चुनौती सामना गरिररहेका यी मुलुकबीच साझेदारीमार्फत समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले यो समूहको स्थापना गरेको हो ।
संयुक्त राष्ट्रसंघले एलएलडिसी सम्मेलनजस्तै ‘विकासका लागि वित्त’ सम्मेलन पनि प्रत्येक १० वर्षमा आयोजना गर्छ । हरेक १० वर्षमा हुने राष्ट्रसंघ अन्तर्गतका दुवै निकायका सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागिता रहने संयोग जुरेको हो ।