माओवादी केन्द्रद्वारा उपमहासचिव जनार्दनले आत्मालाेचना नगरेकाे पार्टी–पंक्तिमा सर्कुलर

२०८२ श्रावण २४ गते, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाइएको हो ।
अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझावलाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गरे पनि शर्माले नमानेको भनिएको सर्कुलरमा भनिएकाे छ ।
सर्कुलरमा भनिएको छ – ‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव क.जनार्दन शर्मा ‘प्रभाकर’का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो । छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट क. प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो। तर, कमरेड प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाउनुभयो ।
अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ । स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाइ अगाडि बढ्न पनि जोड दिएको छ’ ।
प्रचण्डसमेतलाई इंगित गर्दै उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्री असुली धन्दामा लागेकाे आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड र र शर्माबीच सार्वजनिक रुपमै आराेप–प्रत्याराेप चलेकाे थियाे।
केही दिनअघि सकिएकाे माओवादी स्थायी समितिको बैठक त्यसै विषयमा केन्द्रित भएको थियो । यही विषयलाई लिएर शर्मामाथि माफी माग्न दबाब परेको थियो । तर, उनले केही समयदेखि माइन्युटमा हस्ताक्षर नगरेको विषयलाई मात्रै स्वीकारे भने आत्मालाेचना गरेनन्। साेही विषयलाई जाेड दिएर प्रचण्डले पार्टी पङ्क्तिमा सर्कुलर पठाएका हुन्। ‘

यसैगरी, नेकपा माओवादी केन्द्रले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्न समिति बनाउने उल्लेख गरेको छ । सर्कुलरमा भनिएको छ – ‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ । ‘
यस्तै बैठकले समाजवादी मोर्चामा आवद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।

यसैगरी, शुक्रबार जारी गरेको सर्कुलरमा वाइसिएलका निवर्तमान पाँच उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाइने उल्लेख गरिएको छ । यो सर्कुलर अनुसार वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षहरू उमेश घोरासैनी,मञ्जु बम, केहरसिंह कुँवर, गोगन मल्ल र ज्ञानबहादुर ढुंगाना अब वैकल्पिक केन्द्रीय सदस्य बन्नेछन् । यस्तै बैठकले महाधिवेशनसम्म जति पनि वैकल्पिक केन्द्रीय सदस्य बनाउन सक्ने निर्णय गरेको छ । पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढिमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान छ । ,’ सर्कुलरमा उल्लेख छ- ‘तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिबेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ। वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरुको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु