आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने

२०८२ श्रावण २९ गते, बुधबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने देखिन्छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको थोरै स्थानहरुमा तथा वाँकी प्रदेशको एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो । देशभर पुर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा पुर्णतया बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू-भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ ।
ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]