जम्मु कश्मीरमा भीषण बाढी

काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ । जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो । अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त स्थानमा अचानक बाढीको अवस्था सिर्जना भएको छ र यो ठाउँ मचैल माता यात्राको सुरुवात बिन्दु हो। एजेन्सीले किश्तवारका उपायुक्त पंकज शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
जम्मू कश्मीरका उपराज्यपालको कार्यालयले ट्विटरमा लेखेको छ , “किश्तवाडको चाशोतीमा भएको बादल फुटेको घटनाबाट म दुःखी छु। शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।”
“नागरिक रक्षा, प्रहरी, सेना, एनडीआरएफ र एसडीआरएफका अधिकारीहरूलाई राहत र उद्धार कार्यलाई तीव्र बनाउन र प्रभावित मानिसहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न निर्देशन दिइएको छ।”
केन्द्रीय राज्यमन्त्री डा. जितेन्द्र सिंहले एक्समा जानकारी दिए कि ‘बादल फुट्दा धेरै क्षति हुने सम्भावना छ। प्रशासन सतर्क छ र राहत र उद्धार कार्यको लागि तुरुन्तै टोलीहरू पठाइएको छ।’
उनले लेखेका छन् , “क्षतिको मूल्याङ्कन र आवश्यक राहत र स्वास्थ्य सेवाको व्यवस्था भइरहेको छ। सम्भव भएसम्म सबै सहयोग प्रदान गरिनेछ।”
यस क्षेत्रका विधायक सुनील कुमार शर्माले भने , “ठूलो क्षति हुने सम्भावना छ तर अहिलेसम्म कुनै संख्या वा तथ्याङ्क उपलब्ध छैन। यात्रा अझै जारी छ त्यसैले त्यहाँ भीड थियो।”