कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कमजाेर रहे पनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी प्रदेशको तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ । यद्यपि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको सम्भावना भने कायमै रहेको जनाएकाे छ हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम आंशिक बदली भएको छ । बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम बदली भई थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । विशेषगरी कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका बासिन्दालाई थप चनाखो रहन आग्रह गरिएको छ ।