इजरायलद्वारा गाजामा बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने अडान

२०८२ भाद्र ४ गते, बुधबार


काठमाडौँ । गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको इजरायलले जनाएको छ ।
इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि इजरायलले सबै बन्धक छाडनुपर्ने बताएको हो । करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रिया कुरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको हो । अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गर्दै आएका छन ।
इजिप्टले इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको र इजयारलको प्रतिक्रिया कुरिरहेको जनाएको छ । पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २ सय ५१ जनामध्ये ४९ जना अझै गाजामै छन । जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

यसैबीच , दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ।
६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी गरिएको छ। लगातारको बमबारीले घर ध्वस्त भएपछि संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको छ।
यसैबीच गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावमा हमास समूह सहमत भएको छ। गाजा कब्जा गर्ने गरी इजरायलले ठूलो कारबाहीको तयारी गरिरहँदा युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव हमासले स्वीकार गरेको हो। प्रस्तावअनुसार, हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी कुल २८ बन्धक रिहा गर्नेछ। यसको बदलामा इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका १४० जना, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना, र मुद्दा नचलाइएका सबै प्यालेस्टाइनी नाबालिग तथा महिला कैदीलाई रिहा गर्नुपर्नेछ। तर इजरायले भने सबै बन्धकको एकैसाथ रिहाइ खोजिरहेको छ। हमाससँग ५० जना बन्धक छन्। ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको इजरायलको अनुमान छ।
इजरायलको यो अडानसँगै हमासले ६० दिने युद्धविराम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयले अन्योल उत्पन्न भएको छ।

प्रतिक्रियाहरु

[anycomment]